काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रहरू पेस गरेर सबइन्जिनियर पदमा करार नियुक्ति लिएको अभियोगमा अख्तियारले एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सबइन्जिनियर (प्राविधिक सहायक) पदमा कार्यरत दीपेन्द्रकुमार झा भनिने दीपेन्द्र कुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
झाविरुद्ध परेको उजुरीमाथि अनुसन्धान हुँदा उनले तिलाठी कोइलाडीमा सबइन्जिनियर पदमा करार नियुक्ति लिनका लागि एकेडेमिक ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेटसहित नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सो ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरिएको छ ।