काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘झोले’ अध्यक्ष बनेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘केही दिन अघि प्रम केपीबाट म माथि लगाइएका आरोप र यथार्थ’ शिर्षक राखेर लामो विज्ञप्ति जारी गरी नेता रावलले ओलीले आफूविरुद्ध लगाएको आरोप हास्यास्पद, झुटा, सत्ता उन्मादी र विद्वेषपूर्ण रहेका दावी गरेका छन् ।
आफूलाई लगाइएका आरोप यथार्थमा ओली स्वयंको जीवन चरित्र, व्यवहार र प्रवत्तिलाई झल्काउने भएको बताउँदै उनले ओलीलाई ‘झोले’ प्रधानमन्त्री र अध्यक्ष भनेर सम्वोधन गरेका छन् ।
यस्तो छ रावलको फेसबुक स्टाटस :
केही दिनअघि दक्षिणपन्थी देउवा-महन्थ-सीके गठबन्धनका प्रधानमन्त्री तथा बामालेका ‘झोले’ अध्यक्ष केपी ओलीबाट विद्यार्थीको एउटा कार्यक्रममा मेरोविरुद्ध पार्टीप्रति कहिल्यै ‘पजिटिभ’ नभएको, पार्टीको ‘समर्थन’ नगर्ने र ‘ढुंगा’ हान्ने ‘अराजक’, ‘फाइदा र पद खोज्ने’ भनी दिइएका अभिव्यक्तिबारे विगतमा मलगायत कसले के गरेछ र के भएछ भनी एक हप्ता गम्भीर अध्ययन गरेँ’, रावलले वक्तव्यमा भनेका छन्, ‘झोले’ प्रधानमन्त्रीबाट मेरोविरुद्ध लगाइएका आरोप हास्यास्पद, झुटा, सत्ता उन्मादी र विद्वेषपूर्ण देखिए। मलाई लगाइएका आरोप यथार्थमा ओली स्वयंको जीवन चरित्र, व्यवहार र प्रवत्तिलाई झल्काउने रहेछन्।
देश, जनता र पार्टीको हित प्रतिकूल तथा एमालेको सिद्धान्त, नीति, कार्यक्रम, मूल्य र मान्यताविपरीत ओलीका अनेकौँ विचार, व्यवहार र प्रवृत्ति सबैले थाहा पाउने गरी छताछुल्ल भएकै रहेछन्।
आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्न त्यस्ता कुरा आफूले गर्दै नगर्ने भनेर वा अरू कसैतर्फ औँल्याएर चोखो देखिने चतुर्याइँ प्रवृत्ति ओलीमा रहेको अनेक तथ्य र घटनाले प्रस्ट पार्दै आएका पनि छन्।
मेरो बारेमा ओलीका आरोपहरू पनि उक्त चतुऱ्याइँकै उपज हुन्। मैले गत पुस महिनामा नै ओलीका देश, जनता, नेपालको संविधान तथा एमालेको सिद्धान्त, कार्यक्रम र मान्यताविरोधी क्रियाकलाप, विचार र प्रवृत्तिको बारेमा तथ्यगत किसिमले विस्तृत रुपमा स्पष्ट गरेको थिएँ।
मैले अघि सारेका कुनै तथ्यको खण्डन र उठाएका प्रश्नको जवाफ ‘ झोले’हरूले आजसम्म दिन सकेको छैन। तर पनि ‘झोले’ अध्यक्षद्वारा सार्वजनिक कार्यक्रममार्फत तथ्यमा पुनः प्रकाश पार्न मलाई झक्झक्याइएकोले केही ज्वलन्त तथ्यको चर्चा क्रमशः हुने नै छ।’
केपी ओली स्वयंबाट आफूलाई ‘बा’ र "झोले’ घोषणा गरिएकाले आफूले वक्तव्यमा त्यस विशेषणको यहाँ प्रयोग गरिएको हो ।
नेपाली भाषा तथा समाजको चलनचल्तीको भाषामा ‘झोले’को कुनै सकारात्मक वा सम्मानजनक अर्थ लाग्दैन। अन्धभक्त, लोभ र अवसरको लागि स्वविवेक गुमाएर कसैको पछि लाग्ने, स्वार्थी भन्ने अर्थ लाग्ने ‘झोले’ आफू भएको र एमालेका सबैले त्यस्तै हुँ भन्नु पर्ने आह्वान किन गरिएको होला भनी हेर्दा दर्शन, सिद्धान्त, नीति, विधि र आदर्श नरहेपछि ‘बा’, ‘झोले’जस्ता शब्दमा अलमल्याएर मानिसहरूलाई थामथुम गर्नुपर्ने स्थिति बनेको देखिन्छ कम्युनिस्ट पार्टीको नाममा कस्तो विडम्बना !