काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश सर्वोच्च अदालतमा तानिएका छन्।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई सर्वोच्चमा काजमा तानिएको न्याय परिषद्ले जनाएको छ ।
फैसलाका कारण विवादित भएको र सुरक्षाको पनि प्रश्न उठेकोले सर्वोच्चमा काजमा रहने गरी तानिएका हुन् ।
उनीहरूविरुद्ध न्याय परिषद्मा पीडित परिवारले केही दिनअघि मात्रै पनि उजुरी दिएका छन्।
उच्च अदालतले सफाइ दिएपछि आलम जेठ १४ गते कारागारमुक्त भइसकेका छन्। त्यसअघि रौतहट जिल्ला अदालतले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो।
घाइतेलाई इँटा भट्टामा लगेर पोलेको भन्ने अभियोग पुष्टि नहुने जिल्लाको फैसला भने उच्चले सदर गरिदिएको हो।