काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पत्ति विवरण बुझाएका छन्।
२०८२ जेठ ६ गते गभर्नर नियुक्त भएका पौडेलले हाइड्रपावर र बैंकको सेयरमा लगानी रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
पौडेलले बुझाएको सम्पत्ति विवरणमा ललितपुर र नवलपरासीमा घर तथा जग्गा, ४५ तोला सुन र १५ लाखको हिराका गहना रहेको उल्लेख छ।
उनको घरजग्गा श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै अन्य सम्पत्तिहरु भने श्रीमती र आफ्नो नाममा रहेको विवरणमा देखिन्छ ।
ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा १÷१ वटा घर र जग्गा रहेको छ। प्रतिभाको नाममा ४५ तोला सुन र १५ लाख मूल्य बराबरको हिराका गहना रहेका छन्।
गभर्नर पौडेलेको घर र जग्गा भने श्रीमती प्रतिभा शर्माको नाममा छ । ललितपुरको साविकको सैंबुमा ५ आना २ दाम जग्गा र सोही जग्गामा बनेको २७९५ वर्गफिटको घर छ । त्यस्तै नवलपसारीको गैंडाकोटमा २ कित्ता जाग्गा र २५०० वर्गफिटको घर छ ।
गैंडाकोटमा एउटा कित्ता जग्गा १ कठ्ठा २ धुर २ कुनुवा र अर्को कित्ता ४ कठ्ठा १ धुर ३ कुनुवा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ललितपुरको घर र जग्गा १ कराड ५५ लाख रुपैयाँ तथा गैंडाकोटको घर र जग्गा ६० लाख रुपैयाँमा खरिद गरेको पौडेलले उल्लेख गरेका छन् । उक्त सम्पत्ति पैतृक र स्वआर्जनबाट जोडेको विवरणमा उल्लेख छ ।
त्यसैगरी विभिन्न बैंक वित्तीय तथा सहकारी संस्थामा पौडेल र उनकी श्रीमतीको नाममा २० लाख ६८ हजार ९०५ रुपैयाँ मौज्दात र दुवैको नाममा ४ हजार ५१३ अमेरिकी डलर रहेको पनि विवरणमा उल्लेख छ। पौडेलले बुझाएको सम्पत्ती विवरण अनुसार उनको नाममा ऋण छैन।
श्रीमती प्रतिभा शर्माको सानिमा बैंकमा रहेको खातामा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकको खातामा ४ लाख ७३ हजार ८२४ रुपैयाँ र सानिमा बैंकको डलर खातामा ४४४६.५८ अमेरिकी डलर रहेको छ । बैंक खातामा रहेको सबै सम्पत्ति स्वआर्जन रहेको विवरणमा उल्लेख गरिएको छ ।
पौडेलले धितोपत्र, सेयर वा ऋणपत्रमा पनि लगानी गरेका छन्। उनले करिब साढे १५ लाख कित्ता सेयर÷ऋणपत्रमा लगानी गरेको विवरणमा उल्लेख छ ।
विभिन्न सातवटा कम्पनीहरूमा उनको र श्रीमतीको नाममा १५ लाख ३६ हजार ५ सय ८९ कित्ता सेयर रहेको छ।
विवरण अनुसार सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर र चितवन इनर्जि लिमिटेडमा साधारण सेयर रहेको छ।
श्रीमतीको नाममा ४४ लाख रुपैयाँ बराबरको एउटा सुजुकी गाडी रहेको पनि विवरणमा उल्लेख छ। पुराना गाडी बिक्री र स्वआर्जनबाट उक्त गाडी खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ।