Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

असार २० सकिँदासम्म पनि खेत बाँझै भएपछि किसान चिन्तित, मलको पनि अभाव

असार २० सकिँदासम्म पनि खेत बाँझै भएपछि किसान चिन्तित, मलको पनि अभाव

शनिवार , आषाढ २१, २०८२

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले जेठ १६ गते शुक्रबार एक बुलेटिन जारी गरी नेपालमा यसपालिको दक्षिण एसियाली मनसुन सरदरभन्दा १५ दिनअगाडि नै भित्रिएको जानकारी गरायो ।

उक्त बुलेटिनमा मौसम पूर्वानुमान महाशाखाले जेठ १५ गते बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुन विस्तार भएको जनाएको थियो । फलस्वरूप कोशीका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको र अन्य अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समय लाग्ने बताएको थियो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको महाशाखाको भनाई थियो । महाशाखाले यो वर्ष सरदर भन्दा बढी पानी पर्ने बताइरहेको छ ।

असार लागेपछि कतिपय स्थानमा भारी वर्षा समेत भइरहेको छ । असार १५ गतेको अविरल वर्षाका कारण कैलाली र कञ्चनपुरका अधिकांश स्थानमा डुबान भयो । काठमाडौं उपत्यकाका केही स्थानमा समेत भारी वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पनि प्रत्येक दिन कतै न कतै भारी वर्षाको सम्भावना रहेको भनेर बुलेटिन प्रकाशित गरिरहेको छ । असार १६ गते सोमबार जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सचेत गरायो । कतिपय स्थानमा बाढी आयो पनि ।

सोही दिन बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुरमा र कैलालीमा त ‘रेड अलर्ट’ नै जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका अपनाउन अनुरोध गरेकोे थियो ।

यसरी वर्षा भएपनि देशका कतिपय स्थानमा भने पानी नपर्दा किसानहरुले रोपाई समेत गर्न पाएका छैनन् । असार २० सकिँदासम्म पनि सिरहा, झापालगायत जिल्लाका अधिकांश खेतहरू अझै बाँझै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ ।

खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।

सिरहाका लहान नगरपालिका–२३ का किसान रामकुमार यादव भन्छन्–‘समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो, तर न पानी प¥यो, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।’ वर्षा कमजोर रहेकाले खेत सुकेका छन् । बोरिङ गर्ने सुविधा नभएकाले आकाशेपानीकै भर पर्नुपरेको छ ।

कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

त्यस्तै, झापामा पनि पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो ।

हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताए । उनले भने–‘अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको थिएँ । रोपाइँ नहुँदा बीउ पहेँलिएको उनले बताए ।

गत वर्ष यति बेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ ।

तराईका धेरैजसो जिल्लाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशेपानीमा भर पर्न विवश छन् ।

पानी मात्र होइन, किसनका लागि अर्को बाधक बनेको छ रासायनिक मल । कृषि सामग्री कम्पनी लिमिटेड, लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, रोपाइँका लागि आवश्यक पर्ने पाँच हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म मात्र आठ सय २५ मेट्रिक टन मात्र आपूर्ति भएको छ ।

डिएपी मलको अन्तरराष्ट्रिय मूल्य वृद्धि र टेन्डर घाटाको डरका कारण मल आपूर्तिमा ढिलाइ हुँदा किसानहरु मर्कामा छन् । यद्यपी युरिया र पोटास भने पर्याप्त रहेको बताइएको छ ।

यता, झापामा पनि बर्खे धान खेतीका लागि १२ हजार मेट्रिक टन डिपीए र १४ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । तर, मागअनुसार आपूर्ति भएको छैन ।

असार १५ सम्म देशभर २०।३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।

मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा २ लाख ८१ हजार ८०४ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077