काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।
आइतबार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यो विषय केवल एमालेको आन्तरिक प्रतिस्पर्धाको मामिला नभई समग्र प्रणालीसँग सम्बन्धित संवेदनशील विषय भएको धारणा राखेका हुन् ।
'अहिले एउटा विषय आएको छ, सभापतिज्यू, रिटायर्ड राष्ट्रपतिले राजनीतिमा फर्किने,' निधिले भने,'एमालेका लागि यो आन्तरिक प्रतिस्पर्धामा प्रभाव पर्ने वा नपर्ने विषय होला। तर मेरो बुझाइमा यो कुनै एउटा पार्टीको मात्रै विषय होइन, यो प्रणालीसँग जोडिएको गम्भीर विषय हो।'
निधिका अनुसार, नेपालको हालको राजनीतिक प्रणालीमा पूर्व राष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कनु उपयुक्त होइन । उनले भने, 'हामीले जुन प्रणाली ल्याएका छौँ, त्यो प्रणालीले यस्तो कुरालाई स्वीकार गर्दैन। पूर्व राष्ट्रपतिको भूमिकाले निरपेक्षता झल्काउनुपर्छ, त्यसैले रिटायर्ड राष्ट्रपतिले दलगत राजनीतिमा सक्रिय भूमिका खेल्नु प्रणालीको मर्म विपरित हुन्छ।'
पूर्व राष्ट्रपति भण्डारी हाल नेकपा एमालेसँग नजिकिँदै पुनः राजनीतिमा सक्रिय हुने संकेत देखिएको बेला कांग्रेसभित्र यसबारे छलफल सुरु भएको हो।
केही कांग्रेस नेताहरूले पूर्व राष्ट्रपतिको सक्रियताले एमालेभित्रको विभाजनलाई तीव्र बनाउने सम्भावना औंल्याइरहेका बेला निधिले त्यसमा हर्षित हुनुको साटो प्रणालीको दीर्घकालीन असरलाई ध्यान दिनुपर्ने सुझाव दिएका छन्।