कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति, सिद्धान्त र सुशासनको नारासँग बाझिने गरी कञ्चनपुरमा ठेकेदार कम्पनीसँग तोकेरै चन्दा मागिएको पत्र सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।
रास्वपा कृष्णपुर नगरपालिका–१ वडा समितिको लेटरप्याड प्रयोग गरी स्थानीय निर्माण कम्पनी अञ्जल कन्स्ट्रक्सनसँग ३० हजार रुपैयाँ आर्थिक सहयोग मागिएको पत्र सार्वजनिक भएको हो । वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको उक्त पत्र २७ जेठ २०८३ मा जारी गरिएको बताइएको छ।
पत्रमा असार १ गतेदेखि हुने सुदूरपश्चिम प्रदेश अधिवेशन तथा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको महाधिवेशनलाई लक्षित गर्दै कम्पनीसँग ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराउन अनुरोध गरिएको उल्लेख छ।
घटनापछि रास्वपाभित्रै चर्को बहस सुरु भएको छ। सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई प्रमुख राजनीतिक एजेन्डा बनाएको पार्टीका नेता–कार्यकर्ताबाटै ठेकेदार कम्पनीलाई रकम तोकेर चन्दा मागिनु पार्टीको घोषित मूल्य–मान्यताविपरीत भएको टिप्पणी भइरहेको छ।
बाह्य राजनीतिक वृत्तमा पनि यस विषयले चर्चा पाएको छ। विपक्षी दलका नेता तथा सर्वसाधारणले रास्वपा पनि परम्परागत दलहरूकै शैलीमा अघि बढ्न थालेको आरोप लगाउन थालेका छन्।
यता रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले भने उक्त विषयबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन् ।