कैलाली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगको आइतबार बसेको बैठकले उक्त अधिवेशनका क्रममा भएका प्रक्रियाहरू विधान र कार्यविधि विपरीत भएको ठहर गर्दै खारेज गर्ने निर्णय गरेको हो।
जिल्लाका उम्मेदवार र सदस्यहरूले दिएको सप्रमाण उजुरीका आधारमा अध्ययन गर्दा निर्वाचनमा गम्भीर त्रुटिहरू भेटिएको आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत २५ जेठमा सम्पन्न अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित भएका थिए। अधिवेशनबाट ठकुल्लाको नेतृत्वमा १० सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको थियो।
उनले ३३५ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ मत र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए।
तर, निर्वाचनअघि नै चौधरी र रेग्मीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै प्रक्रिया बहिष्कार गरेका थिए।
त्यसपछि सम्पन्न निर्वाचनको वैधतामाथि प्रश्न उठाउँदै जिल्लाका उम्मेदवार तथा पार्टी सदस्यहरूले प्रमाणसहित उजुरी दर्ता गरेका थिए। ती उजुरीमाथि अध्ययन गर्दा निर्वाचन प्रक्रिया पार्टीको विधान, कार्यविधि तथा लोकतान्त्रिक मापदण्डअनुसार सञ्चालन नभएको प्रारम्भिक रूपमा पुष्टि भएको आयोगले जनाएको छ।
विज्ञप्तिमा जिल्लाका जिम्मेवार नेताहरूको असहमति र सुझावलाई बेवास्ता गर्दै निर्वाचन गराइएको उल्लेख गरिएको छ।
त्यसैले आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रक्रियागत त्रुटि र विधानविपरीत गतिविधि भएको निष्कर्षसहित निर्वाचन प्रक्रिया र परिणाम अमान्य भएको घोषणा गरेको हो।