काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार पनि देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।