काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइबारे कुराकानी भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले हमासले बन्दी बनाएका जोशीको रिहाइको विषयमा कुराकानी गरेको बताए ।
'उहाँ (इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली) सँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयहरूमा छलफल गरेको छु,' उनले भने, 'साथै, हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर पहलका लागि अनुरोध गरेको छु।'