काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हँसपुर नगरपालिकामा सार्वजनिक सम्पत्ति हिनामिना तथा अनियमितताको आरोपमा तत्कालीन उपप्रमुख रेणु देवी झासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार तत्कालीन उपप्रमुख झा, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सोमबार दायर आरोपपत्रमा आयोगले नगरपालिकाले सुगा निकास टोलदेखि कट्टी चोकसम्मको पीसीसी ढलान योजनामा मिलेमतोमा रकम भुक्तानी गर्दा कुल ५२ लाख ७२ हजार १६८ रुपैयाँ ३ पैसा हिनामिना तथा हानिनोक्सानी गरिएको ठहर गरेको छ।
२०७६/०७७ को नगरसभाबाट स्वीकृत एक करोड रुपैयाँको योजनाका लागि निर्माण व्यवसायी देव कन्स्ट्रक्सनसँग ९५ लाख २७ हजार रुपैयाँमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, मूल्याङ्कन र नापी कितावमा वास्तविकभन्दा बढी मापन देखाएर ७ लाख ८१ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको भेटिएको छ।
अख्तियारको अनुसन्धानले देखाएअनुसार रामललितको घरअगाडि भनिएको २१३ मिटर लम्बाइको ढलान वास्तवमा ४५ मिटर मात्रै थियो, भने गाछी क्षेत्रको २६० मिटर लम्बाइको काम १५४ मिटर मात्र भएको पाइएको छ।
त्यसैगरी, १६ लाख ५० हजार रुपैयाँ पेश्की दिँदा आवश्यक बैंक जमानत नलिइएको, म्याद थप गर्दा सुरक्षात्मक जमानतको व्यवस्था नगरेको लगायतका गम्भीर लापरबाहीहरूले २८ लाख ४० हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति असुरक्षित बनेको अख्तियारले जनाएको छ।
आयोगले योजनाबद्ध रूपमा आपसी मिलेमतोमा गरिएको भ्रष्टाचारले राज्यको सम्पत्तिमा गम्भीर क्षति पुर्याएको भन्दै सम्बन्धित ९ जनामाथि भ्रष्टाचार निवारण ऐनअनुसार कडा कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।