एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा बनेका वस्तुहरूमा ५० प्रतिशत कर लगाउने योजना रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पछिल्लो महसुल पत्रमा सो योजना घोषणा गरेका हुन् ।
उक्त पत्रमा ट्रम्पले अमेरिका विरुद्धको ‘आक्रमण’ गरेको भन्दै ब्राजिलमाथि आरोप लगाएका छन्, र पूर्व दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारोमाथि भएको अभियोजनलाई राजनीतिक बदला भनेका छन्। बोल्सोनारो सन् २०२२ को चुनाव उल्ट्याउने योजनामा संलग्न भएको आरोपमा मुद्दाको सामना गरिरहेका छन्।
बुधवारकै दिन, ट्रम्पले तामाको आयातमा घोषणा गरिएको ५० प्रतिशत महसुल साउन १६ (अगस्ट १) देखि लागु हुने बताएका छन्।उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रिय सुरक्षाका कारण यस्तो निर्णय लिइएको जनाएका हुन्।
यसै हप्ता ट्रम्पले जापान, दक्षिण कोरिया, श्रीलङ्काजस्ता व्यापारिक साझेदार देशहरूलाई पत्र पठाउँदै अगस्ट १ बाट लागु हुने नयाँ महसुल योजनाको जानकारी दिएका छन् ।