काठमाडौं । रसुवामा मंगलबार आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि नौजनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै मृतक संख्या बढेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ८६२ जनाको उद्धार गरिएको छ भने १९ जना अझै बेपत्ता छन् । शवहरूमध्ये अधिकांशको सनाखत हुन सकेको छैन ।
अहिलेसम्म बाढीमा फसेका, अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ । अहिलेसम्म एक जनाको शव सनाखत भएको र अन्य शवहरूको सनाखत हुन सकेको छैन। कतिपय चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अंग मात्र फेला पारिएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ।
उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो। यस्तै, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ ।