काठमाडौं । राजावादी आन्दोलनका कारण जेल परेका व्यवसायी दुर्गा प्रसाई र डन दीपक मनाङे(राजीव गुरुङ)को डिल्लीबजार कारागामा दोस्ती जमेको छ । दुवै जना कारागारको एउटै ब्लकमा छन्।
भिआइपी कैदीको रोजाईमा पर्ने डिल्लीबजार कारागारको उनीहरु ‘ख’ ब्लकमा बसेका छन् । सो ब्लकमा भेटघाट गर्न अन्यत्र भन्दा सहज वातावरण छ ।
कारागार स्रोतका अनुसार प्रसाई र मनाङे व्यापारदेखि राजनीतिसम्मका कुरा गरेर बस्दछन् । दुवैलाई भेट्न दिनभरी नै भिड लाग्ने गरेको छ ।
दुवै जनाले त्यहाँ एक एक जना सहयोगी बनाइसकेका छन् । सो जेलमा एक किसिमले उनीहरुकै शासन चल्न थालेको स्रोत बताउँछ ।
मनाङे २० वर्षेअघिको ज्यान मार्ने उद्योग मुद्दामा सर्बोच्च अदालतबाट दोषी ठहर भई पक्राउ परेर जेल चलान भएका छन्। प्रसाई भने गत १५ चैतको आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा जेल परेका हुन्।
प्रसाईमाथि बैंकलाई ठगी गरेको प्रकरणमा अर्को मुद्दा पनि दायरको तयारी भइरहेको छ । साथै, आपराधिक लाभ कसुरको मुद्दा पनि विचाराधिन छ ।
सो कारागारमा आइटी क्षेत्रका माफियाद्वय विकल पौडेल र सुनिल पौडेल पनि छन् । त्यस्तै कान्तिपुर सहकारीका अध्यक्ष सिबी लामा लगायत व्यापारी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि भैरहवा कारागारबाट सोही कारागारमा सरुवाका लागि कारागार व्यवस्थापन विभागमा निवेदन दिएका छन् ।