काठमाडौं । स्पेन प्रकरणको छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा छानविन समिति गठन भएको हो ।
समितिले स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानविन गर्नेछ ।
समितिमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको सीआईबीले जनाएको छ ।
समितिलाई रकम लिएर स्पेन पठाइएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको छ ।
यसअघि सोमबार गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो ।
[insert page='355565' display='yopanipadhnuhos.php']
आईजीपी दिपक थापा, सीआईबी प्रमुख चन्द्रकुवेर खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल, मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसपी रुगम कुँवरसमेतलगायत सहभागी बैठकले असम्बन्धित व्यक्तिहरु समेत गएको हुनसक्ने निष्कर्ष निकालेको थियो ।
बैठकमा त्यसबारे विस्तृत छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका थिए ।
स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाएको हुनसक्ने देखिएपछि समिति गठन गरिएको हो ।
[insert page='355722' display='yopanipadhnuhos.php']
१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमा पनि कतिपयलाई विचौलियाले मड्रिड लगेका थिए । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका भन्दै उनीहरुको नाम वेवसाइटमार्फत रजिष्ट्रेसन गराइएको थियो ।
त्यसरी दिइएको आवेदनमार्फत उनीहरुको नाममा कार्यक्रमको निम्तो आएको थियो । र, त्यो निम्तो देखाएर उनीहरुले दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा पाएका थिए ।
पछि भिसा लिएकाहरुको पृष्ठभूमि शंकास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सका कर्मचारीहरुलाई पठाइएको थियो भने उनीहरुलाई रोक्न भनिएको थियो ।
[insert page='355710' display='yopanipadhnuhos.php']
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा समेत केही दिनदेखि यो प्रकरणमा आवाज उठाइरहेको छ । रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री गएको कार्यक्रममा गएका कतिपय नेपालीहरु नफर्केको भन्दै सरकारको जवाफ माग गरेको विषयले संसदमा हंगामा नै भएको थियो ।