बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
काभ्रे प्रहरीले उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप र सट्टेबाजीसम्बन्धी विभिन्न सामग्रीहरू बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट करोडभन्दा बढीकै कारोबार भएको देखिन्छ ।
मण्डनदेउपुर नगरपालिका–७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेंटबाट अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीलले भक्तपुर नगरपालिका–८ इमाटोल बस्ने ३२ वर्षीय दिगज नकर्मी र भक्तपुर नगरपालिका–४ कमल बिनायक बस्ने २८ वर्षको संजीव कुशी र २४ वर्षीय रोशन प्रजापतिलाई पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरीले सूर्यविनायक नगरपालिका–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका–१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जनलाई पक्राउ गरेको छ ।
उनीहरूलाई असार ३० गते दिउँसो जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले छापा हानेर नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा होटलमा अनलाइनमार्फत जुवा खेलाउने गतिविधि भइरहेको भन्ने जानकारी पाएपछि अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले घटनास्थलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी कोमल शाहले जानकारी दिए ।
उनीहरू रिसोर्टको कोठा भाडामा लिएर अनलाइन एप्स र वेबसाइटमार्फत खेलाडीहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।