रसुवा । अस्थायी प्रहरी पोष्ट मैलुङबाट हत्कडीसहित फरार भएका दुई जना थुनुवालाई प्रहरीले चार घण्टामै पुनः नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा उत्तरगया गाउँपालिका–२, सिम्लेका २० वर्षीय सुमन उर्फ छिरिङ तामाङ र प्युठानको गौमुखी गाउँपालिका–३ का २५ वर्षीय तनबीर पुन मगर रहेका छन् । ती दुवै जना निर्माणाधीन त्रिशूली २१६ मेगावाट हाइड्रोपावर आयोजनामा काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार, उनीहरूलाई हाइड्रोपावरको सामग्री चोरी गरी ल्याउँदै गरेको अवस्थामा सोमबार राति रसुवा, मैलुङस्थित अस्थायी प्रहरी पोष्टको चेकपोष्टमा पनेरु प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरू सवार रहेको बाप्र०१–०४क–१२७९ नम्बरको आइचर ट्रकमा झण्डै ५०० किलो तौल बराबरको कवाडी सामान भेटिएको थियो ।
पक्राउपछि प्रहरी हिरासतमा राखिएका उनीहरू मंगलबार बिहान हत्कडीसहित फरार भएका थिए । तर, प्रहरी टोलीले त्यसै दिन दिउँसो सिम्ले, डाँडागाउँ क्षेत्रबाट दुबै जनालाई पुनः पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ।
फरार थुनुवासँगै सामानसहितको ट्रक र बरामद सामग्री पनि मैलुङ प्रहरी पोष्टमा राखिएको छ । हाल दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धुन्चे लगिएको छ।