कैलाली । कैलालीको अत्तरियास्थित दुई पसलमा करछलीको आशंकामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन हमालको नेतृत्वमा छापा मारिएको छ ।
विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–१ मा रहेको ‘न्यु सुरुची ट्रेडर्स’ र ‘पिंकु वस्त्रालय’ मा मंगलबार छापा मारिएको हो । अनुगमनमा त्रिनगर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरू समेत सहभागी थिए ।
छापा टोलीले दुबै पसलमा सम्पूर्ण सामानको काउन्ट गरी बिल–बिजक मात्र नियन्त्रणमा लिएको बताइएको छ । भारतबाट करछली गरी लामो समयदेखि सामान आयात हुँदै आएको सूचनाका आधारमा अनुगमन गरिएको सीडीओ हमालले जानकारी दिए ।
टोलीले संकलन गरेका विवरण र बरामद बिल–बिजकको अध्ययनपछि कर छलिएको पुष्टि भए आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।