अछाम । अछामको मंगलसेन नगरपालिका–५ स्थित सनसाईन प्लाजा होटलमा भएको एक कुटपिट घटनामा संलग्न दुई जना पक्राउ परेका छन् भने अन्य सात जना फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ पर्नेमा झंकर भाट र मदन बिष्ट रहेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।
यही असार २२ गते दिउँसो करीब २ः३० बजे होटलमा तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान निवासी ३१ वर्षीय कर्ण बहादुर बुढालाई नौ जनाको समूहले घेरेर कुटपिट गरेको आरोप छ ।
पीडित बुढामाथि हात, मुक्का, लात्ति, फलामको रड, खुकुरीजस्ता धारिला हतियार प्रयोग गरी प्रहार गरिएको प्रहरीले जनाएको छ । यस घटनामा उनको अनुहार, चिउडो र शरीरका अन्य भागमा गम्भीर चोट पुगेको छ भने तल्लो भागका दुईवटा दाँतसमेत भाँचिएको छ ।
पीडितले घटना भएको एक हप्तापछि सोमबार मात्रै झंकर भाट, बल भाट, कमल भाट, मदन बिष्ट र विष्णे कठायतसहित ९ जनाविरुद्ध 'अङ्गभङ्ग गर्न नहुने कसूर' अन्तर्गत किटानी जाहेरी दर्ता गराएका थिए ।
त्यसपछि घटनामा संलग्न भनिएका व्यक्तिमध्ये भाट र बिष्टलाई प्रहरीले पक्राउ गरी तीन दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाइसकेको छ ।
अन्य सात जना प्रतिवादीहरू हाल फरार रहेका छन् । उनीहरूको खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।