काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित इन्द्र बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा नदिए प्रक्रियाबाटै हटाउने बताएका छन्।
दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री बहादुर सिंह लामाले संविधान अनुसार आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको अडान लिएपछि उनले यस्तो बताएका हुन्।
बानियाँले भने–‘उहाँ नेपाली कांग्रेसका संसदीय दलको नेताको हैसियतले दुई पार्टीबीच गठबन्धन हुँदा उहाँ मुख्यमन्त्री हुनुभएको हो। उहाँको अहिले दलको नेताको हैसियत गुमेको अवस्था छ। त्यही दलको विधान अनुसार भएको हो। राजनीतिमा नैतिकता, इमानदारिता हुनुपर्छ । उहाँले पार्टीका साथीहरूको कुरालाई मान्नुभएन भने यो उहाँको दुर्भाग्य कुरा हो।’
उनले मुख्यमन्त्रीले राजीनामा नदिए लोकतान्त्रीक अभ्यास अनुसार प्रक्रियाबाटै बिदाइ गर्ने बताए।
पराजित भएपनि लामाले भने राजीनामा नदिने अडान लिएका छन् । पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामाले भने–‘यो लोकतान्त्रिक प्रणाली हो, पहिला मैले जितेँ अहिले उहाँले जित्नुभयो । तर विधि र विधानमा अघि बढ्नुपर्ने भन्ने कुरा हो। म ५ वर्षको लागि निर्वाचित भएको थिएँ। तर उहाँहरूले विधि मिचेर बीचमै यस्तो खेल खेल्नुभयो। कांग्रेसको विधानमा दलको नेता नभएपनि गठबन्धनको सरकारको नेतृत्व गर्न पाइन्छ भन्ने छ। त्यसैले म राजीनामा दिन्नँ।