वीरगन्ज । वीरगन्जको लजमा १७ वर्षीया बालिकालाई तीन दिनसम्म बन्धक बनाएर पालैपालो बलात्कार गरेको आरोपमा फरार रहेका दुई अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ का ४० वर्षीय नेक महमद र रौतहटका २१ वर्षीय अफताब अन्सारी रहेका छन् ।
नेक महमद वीरगन्ज–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कशपका सञ्चालक हुन् भने अफताब सोही वर्कशपमा कार्यरत कर्मचारी हुन् ।
गत वैशाख २० गते, पर्साको बरैनिया घर भएकी बालिका बिहान आफ्नो बाख्रा खोरमा बाख्रा बाँधेर फर्कने क्रममा बाटोमै नेक र अफताबले घेरा हालेर जबरजस्ती नियन्त्रणमा लिए ।
ती बालिकाको मुखमा कपडा कोचेका थिए भने आँखामा कालोपट्टी बाँधेर वीरगन्जको नयाँ बसपार्कस्थित गणेश होटल एण्ड लजको कोठामा लगेर राखिएको थियो ।
तीन दिनसम्म लजमा राखी उनीहरूले पालैपालो बलात्कार गरेपछि वैशाख २३ गते बिहान ८ बजे पीडितलाई वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी पार्कको गल्लीमा छाडेर अभियुक्तहरू फरार भएका थिए ।
घटनापछि पीडित बालिकाले वीरगन्ज प्रहरीमा किटानी जाहेरी दिएपछि अनुसन्धानमा खटिएको टोलीले मंगलबार दिउँसो वीरगन्ज–१५ को प्रतिमा चोकबाट दुवै अभियुक्तलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
साथै पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।