काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनबाट हुने भिजिट भिसाको असुलीसम्बन्धि सेटिङको छानविन अन्तिम चरणमा पुर्याएको छ ।
भिजिट भिसाको सेटिङ मिलाउने समूहमा गैरआवासिय नेपाली संघ (एनआरएन) का नेता समेत मुछिएका छन् ।
एनआरएन आईसीसी केही नेतामाथि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
अध्यागमनका तत्कालिन प्रमुख तिर्थराज भट्टराईसँग मिलेर सेटिङ मिलाउने ट्राभल व्यवसायी बालकृष्ण खड्का र उनका पार्टनर पनि अनुसन्धानमा तानिएका हुन्।
उनीहरुको ग्रिनलाइन र स्मार्ट होलिडेगरी दुई वटा ट्राभल एजेन्सी छ। एउटा मेनपावर कम्पनी पनि छ । भिजिट भिसामा विदेश पठाउने मुख्य गिरोह नै उनीहरु भएको अख्तियारको छानविनमा देखिएको छ ।
सहसचिव भट्टराईलाई गत ६ जेठमा अख्तियारले नियन्त्रणमा लिई छानविन थालेको थियो। जसक्रममा खड्काले नै उनलाई भिजिट भिसामा पठाउनेहरुको सूची ह्वाट्सएपमा पठाउने गरेको खुलेको छ ।
उनीहरुबिच आर्थिक लेनदेन भने उत्तरढोकाको एक रेष्टुरेन्टमा हुने गर्दथ्यो। त्यो खड्काले नै सञ्चालन गरेको रेष्टुरेन्ट हो । आयोगले भट्टराई पक्राउ परेकै दिन ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्का र सहसचिव भट्टराईको पैसा कारोबार मिलाउने खगेन्द्र सुवेदी र कविता पौडेललाई पक्राउ गरेको थियो ।
भट्टराईले सुवेदी र पौडेलमार्फत पैसा लिएको खुलेको छ । भट्टराईको डायरीमा करोडौँ लेनदेनको प्रमाण पनि भेटिएको छ ।
अख्तियारको अनुसन्धान अन्तिम चरणमा पुगेसँगै पहिलो चरणमा भट्टराई र उनका सहयोगीविरुद्ध मात्र मुद्दा चल्ने अख्तियार स्रोतले बताएको छ ।
विगतमा भिजिट भिसा प्रकरणमै मुद्दा खेपेका अधिकृत विमल पौडेललाई गृहमन्त्री रमेश लेखकले आफ्नै सचिवालयमा राखेका कारण पौडेल पनि अख्तियारको छानविनमा तानिएका छन् ।
सहसचिव भट्टराईले गृह मन्त्रालयकै आडमा अध्यागमनमा भिजिट भिसाको असुली चलाएको आरोप लाग्दै आएको छ ।
प्रकाशित समाचारमा यस अघि अन्यथा पर्न गएकोमा सच्याइएको छ - सम्पादक ।