काठमाडौं । ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा शेयर कारोबारी तथा सिप्रवी सेक्युरिटिज (ब्रोकर नम्बर २२) का महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता मोहनमणि अधिकारीका अनुसार श्रीवास्तवविरुद्ध ठगीको उजुरी परेपछि उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएका थिए।
श्रवास्तवविरुद्ध मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
श्रीवास्तवसहित सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध समेत ठगीको उजुरी परेको प्रहरीले जनाएको छ।
यसअघि मिताका श्रीमान् तथा शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनी हाल धरौटीमा रिहा भइसकेका छन्।
प्रहरीका अनुसार उक्त ब्रोकर कम्पनीले उजुरीकर्ता दुईको कुल ११ करोड ५५ लाख रुपैयाँ सेयर कारोबार बापत फिर्ता नगरेको भन्दै ठगीको आरोप लगाइएको हो ।
उजुरीमा भनिएअनुसार सिप्रवीका पदाधिकारीहरूले शेयर कारोबारको नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए।
दीपेन्द्र अग्रवालले मिता तथा ज्योतिसहित विभिन्न १५ व्यक्तिका नाममा सेयर कारोबार गर्दै आएका छन् । उनले ती व्यक्तिका नाममा आफैं सेयर किन्ने र आफैंले बिक्री गर्ने गर्दै आएको धितोपत्र बोर्डको अनुसन्धानमा देखिएको छ ।
साथै, अग्रवालले ती १५ जनाबीच सेयर खरिद–बिक्री गरेर मूल्य बढाउने र समाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई किन्न लगाउने गर्दै आएको बोर्डको अनुसन्धानको निष्कर्ष छ ।