काठमाडौं । जन्मदिनको पार्टीमा होहल्ला गर्दैगर्दा पक्राउ परेका गुण्डा नाइके मिलन गुरुङ 'चक्रे' माथि जिल्ला प्रहरी परिसर भक्तपुरले पनि अनुसन्धान गर्ने भएको छ ।
भक्तपुर प्रहरीले एक वर्षअगाडिको कुटपिटको घटनामा उनको संलग्नता पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाउन लागेको हो ।
२०८१ भदौ ४ गते भक्तपुरमा भएको एक कुटपिट घटनामा चक्रे मिलनको संलग्नता पुष्टि भएपछि जिल्ला प्रहरी परिसर भक्तपुर ले उनलाई प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी गरेको बताइएको छ ।
भक्तपुर प्रहरीका अनुसार चक्रे मिलन हाल काठमाडौं भद्रकालीस्थित प्रहरी हिरासतमा रहेकाले सोही अवस्थामै बयान लिने कार्य अघि बढाइएको छ ।
घटनामा संलग्न भएको आरोपमा पहिलो जाहेरी २०८१ भदौ ९ गते भक्तपुर जिल्ला अदालतमा दर्ता भएको थियो । पीडित मनिष रायमाझीले ‘डुँडे’ भनी सामाजिक सञ्जालमा टिप्पणी गरेपछि चक्रेले रायमाझीलाई फोनमा धम्क्याएको र त्यसपछिका दिनहरूमा अजित खवास नेतृत्वको समूहले रायमाझीमाथि कुटपिट गरेको उल्लेख छ ।
मनिषमाथिको कुटपीटमा चक्रेका सहयोग टुकु महाराज भन्ने उत्तम महर्जन पनि संलग्न रहेको खुलेको छ । महर्जन अहिले चक्रेसँगै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
जावलाखेल बस्ने महर्जनले नै चक्रेको आर्थिक व्यवस्थापनदेखि मुख्य सहयोगिको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
प्रारम्भिक अनुसन्धानमा चक्रे मिलनले आक्रमण गर्न खवासलगायतको समूह परिचालन गरेको खुलेको प्रहरीको भनाइ छ ।
सुरुवातमा ठेगाना नखुलेको कारण प्रहरीले मुद्दामा चक्रेलाई प्रतिवादी बनाउन सकेको थिएन । तर हाल उनी प्रहरी हिरासतमा परेपछि उनलाई प्रतिवादी बनाउने प्रक्रिया अघि बढेको हो । थिमी वृत्तले अनुसन्धानको सम्पूर्ण जिम्मेवारी लिएको छ भने अन्य संलग्न व्यक्तिको पहिचान गर्ने कार्य पनि जारी रहेको छ।
प्रहरीका अनुसार, चक्रे मिलनविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र दायर गरिनेछ। भक्तपुर प्रहरीले काठमाडौंको हिरासतमा रहेका चक्रेलाई भक्तपुर ल्याएर बयान लिने र आवश्यक अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।