काठमाडौं । अध्यागमन विभागले भिजिट भिसा लिएर ब्यापार गर्दै आएको आरोपमा एक फ्रान्सेली नागरिकलाई नियन्त्रणमा लिएको छ।
कहिले भिजिट भिसा त कहिले विद्यार्थी भिसा लिएर काठमाडौंको लैनचौरमा टेरा साम्पा नामको बेकरी सञ्चालन गरेको र ललितपुरको रैथाने फुड्समा समेत सहलगानी गरी व्यवसाय सञ्चालन गरेको प्रहरी अनुसन्धानमा खुलेपछि उनलाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।
हप्ताको ३ देखि ४ दिन बेकरी खोल्ने र आफ्नै –सेवा खातामार्फत् अनलाइन भुक्तानी लिने गरेको देखिएको छ। उनले कमै मात्र ग्राहकसँग प्रत्यक्ष भेटघाट गर्ने गरेको पनि खुलेको छ।
नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले व्यवसाय सञ्चालन गर्न पाईंदैन । व्यवसाय सञ्चालन गर्न व्यावसायिक भिसा लिएको हुनुपर्छ। त्यस्तै काम गर्नेले भने वर्किङ भिसा पनि लिएको हुनुपर्छ। तर, उनले व्यवसायिक र वर्किङ भिसा नलिएको खुलेको छ ।
सन् २०१४ देखि पटक–पटक नेपाल आउने र जाने गरेकी उनी प्रत्येक वर्षको अन्त्यतिर टर्की, यूएईलगायतका तेस्रो मुलुक जाने र पुनः नेपाल प्रवेश गर्दै आएको खुलेको छ ।
उनी हालसम्म १५ पटकभन्दा धेरै नेपाल आएको र त्यति नै पटक नेपालबाट प्रस्थान भएको देखिएको छ। उनले पटक–पटक वाल्मीकि विद्यापीठमा भर्ना भई अध्ययन भिसा लिने तर अध्ययन पूरा नगरी पर्यटक भिसा लिएर नेपालमा व्यापार व्यवसायसमेत सञ्चालन गर्दै आएको देखिएको प्रहरीको भनाइ छ।
अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिन सक्ने व्यवस्था छ।
अध्यागमन नियमावली, २०५१ मा पर्यटक भिसामा बसेको विदेशी नागरिक र परिवारको सदस्यले कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था छ।
त्यसैगरी विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइने छैन भन्ने व्यवस्था छ। यसरी गैरकानूनी रुपले बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधी तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानूनी व्यवस्था छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपालमा भिसाको उद्देश्य विपरीत बसेका वा शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकलाई नियन्त्रणमा लिई अध्यागमन कानून बमोजिम कारवाही गरिने बताएका छन्।