काठमाडौं । सार्वजनिक हितविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनालाई प्रहरीले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीको अनुरोधमा म्याद थपको अनुमति दिएको हो । यसअघि साउन १५ गते राति काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटल क्षेत्रमा ठूलो समूह भेला भई होहल्ला गरेको आरोपमा चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरिएको थियो । तीमध्ये २८ जनालाई रिहा गरिएको छ भने बाँकी १९ जनामाथि अनुसन्धान जारी छ।
अनुसन्धानमा रहेका अन्य व्यक्तिहरूमध्ये गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतीक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सडक छेउमै भेला भएर केक काट्ने, महाराजगन्ज क्षेत्रमा ठूलो आवाजमा होहल्ला गर्ने र शान्ति सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न थिए ।
चक्रे मिलनले जन्मदिनका अवसरमा पशुपतिमा पुगेर पैसा बाँडेको भिडियो तथा सडकमा गाडीको लस्कर बनाएर अरू सवारीलाई रोक्ने स्कर्टिङको दृश्यसमेत सामाजिक सञ्जालमा भाइरल भएका छन्।
यसअघि प्रहरीले उनीहरूलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो ।