कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीकै संरक्षणमा अवैध जुवाखालहरू फष्टाएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । कोहलपुरका जुवाखालहरुमा दिनमै २ करोड रुपैयाँसम्म हारजित हुने गरेको छ ।
गृह मन्त्रालय लगायत निकायमा परेको उजुरीमा स्थानीय चक्र क्षेत्री, टोपेन्द्र महरा (भुन्टे), शिशिर गिरी, उमेश जंग ठकुरी लगायतले जुवा खेलाउने गरेको उल्लेख छ ।
बैजनाथ गाउँपालिकाको तिलकपुर, मैटहजा र वनकटुवा तथा कोहलपुर नगरपालिकाको मदनचोकमा जुवा अखडा चल्ने गरेका छन् ।
जुवा खेलाउने केहीले नक्कली नोटको कारोबारमा पनि संलग्न रहेको उजुरीमा दाबी गरिएको छ । ‘शुक्रबार मात्र एकै जनाले कोहलपुरमा जुवामा ४५ लाख हारेका छन्,’ एक स्थानीयले भने ।
कहिलेकाँही यौ टोलीले बाँकेको बाँसगढी बदैया ताल, ठाकुरद्वारा, भुटी गाउँ लगायत ठाउँमा पनि जुवा खुलाउने गरेको छ ।
जुवा खेलाउनेमध्ये टोपेन्द्रले नेपालगञ्जका क्यासिनोमा मिटरब्याजमा पनि पैसा लगाउने गरेका छन् । सिटी प्यालेस क्यासिनोलाई अखडा बनाएर उनले पैसा लगानी गर्दे आएका छन् ।
कोलहपुर ६ मा हाइस्कुल रोडमा डिएनटी नामक क्याफे चलाएका उनले घुमुवा प्रहरीलाई प्रभावमा पारी त्यहाँ अवैध गतिविधि सञ्चालन गर्दै आएको स्थानीयको आशंका छ । उनले यस्तै गतिविधि गरेर करिब २५ करोडको सम्पत्ति जोडिसकेका छन् ।
प्रहरी टोलीले जुवा र नक्कली नोटको कारोबारमा संलग्नलाई संरक्षण गरेको स्थानीयको आरोप छ ।
इप्रका कोहलपुरमा डिएसपी लक्ष्मी खनाल कार्यरत छिन् । इप्रकाका नाममा जुवाडेले नै दैनिक नै ४० हजार रुपैयाँ छुट्याउने गरेका छन् ।
उजुरीमा त्यो पैसा क–कसले बाढेर लिन्छन् त्यस विषयमा छानविन गर्न माग गरिएको छ ।
यसैबीच कोहलपुर–११ बाँकेका उमेश जंग ठकुरीले भने आफू जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न नरहेको भन्दै खण्डन गरेका छन् । अनलाइन नेपालमा खण्डन पठाउँदै उनले त्यस्तो गैरकानूनी कार्यमा आफू संलग्न नभएको बताएका हुन् ।
समाचारको विषयमा शिशिर गिरीले पनि आफू जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न नरहेको भन्दै खण्डन गरेका छन् । अनलाइन नेपालसँगको सम्पर्कमा उनले आफू माछा पोखरी सञ्चालन गर्दै आएको व्यवसायी भएको भन्दै जुवा खेलाउने कार्यमा आफू संलग्न नभएको बताएका हुन् । कसैले आफ्नो वेइज्जत गर्ने मनसायले समाचार दिएको बताएका उनले त्यस्तो गलत कार्य नगरेको दावी गरे ।