धनगढी । जिल्ला कारागार कैलालीमा भएको कैदीबन्दीको झडपपछि गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत गम्भीर घाइते गोदावरी नगरपालिका २ का आयुष भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।
गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको धनगढी पठाएको थियो । सोही स्काइ ट्रकमा शनिबार राति उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।
गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको थियो । अन्य घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।
घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।