धनगढी । कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको भीषण झडपमा एक कैदीको मृत्यु र ४७ जना घाइते भएपछि जेल प्रशासन नेतृत्व परिवर्तन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार जेलर बसन्त खत्रीलाई हटाई जालन्धर भुसाललाई नयाँ जेलरका रूपमा खटाइएको हो ।
भुसाल आइतबार दिउँसो ३ बजे कैलाली पुगेर कार्यभार सम्हालेका छन् । शुक्रबार राति भएको झडपमा धनगढी–४ का कैदी ३२ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो ।
४७ जना घाइतेमध्ये एक गम्भीर अवस्थाका कैदीलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
केही समयका लागि कैदीहरूले कारागारको नियन्त्रण लिएका कारण अवस्था सामान्य बनाउन सुरक्षाकर्मीलाई हम्मे परेको थियो ।
घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
तर कारागारको सुरक्षा र व्यवस्थापनमा चुकेका सिडियो गोगन बहादुर हमाल र प्रहरी प्रमुख बालनरसिंह राणाबारे निर्णय भएको छैन । उनीहरुको जिम्मेवारी खोस्न जनस्तरबाट चर्को दबाब बढेको छ ।