कैलाली । जिल्ला कारागार कैलालीमा शुक्रबार राति भएको रक्तपात प्रकरणमा जिम्मेवारी र सुरक्षा व्यवस्थापनमा चुकेका प्रमुख जिल्ला अधिकारी (सिडियो) गोगन बहादुर हमाल र जिल्ला प्रहरी प्रमुख (एसपी) बालनरसिंह राणालाई उन्मुक्ति दिइएको छ ।
कारागार सुरक्षा व्यवस्थापनमा प्रत्यक्ष जिम्मेवार मानिएका उनीहरूलाई पदमै राखिएको हो । यद्यपि, घटनाको समय बिदामा रहेका जेलर बसन्त खत्रीलाई भने तत्काल सरुवा गरिएको छ । उनको स्थानमा नयाँ जेलरका रूपमा जालन्धर भुसाललाई खटाइएको छ ।
गत शुक्रबार राति कारागारभित्र कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र ४८ जना कैदीहरु घाइते भएका थिए । झडपमा धनगढी–४ का कैदी ३२ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो ।
४८ जना घाइतेमध्ये एक गम्भीर अवस्थाका कैदीलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केही समयका लागि कैदीहरूले कारागारको नियन्त्रण लिएका कारण अवस्था सामान्य बनाउन सुरक्षाकर्मीलाई हम्मे परेको थियो ।
घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
यता यसअघि मानव अधिकार आयोगले कारागारमा सुरक्षा संयन्त्र अत्यन्तै कमजोर भएको र प्रशासनको लापरबाही देखिएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिसकेको छ ।
[insert page='360929' display='yopanipadhnuhos.php']
मृतक चौधरीका परिवारले गम्भीर सुरक्षा लापरबाही भएको भन्दै शव उठाएका छैनन् । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् ।
कसरी सुरु भयो तनाव
गत असारमा सिडियो हमालले कारागार निरीक्षणका क्रममा ब्लक ‘ए’ मा मोबाइल पत्ता लगाएका थिए। त्यसपछि सात जना कैदीलाई ब्लक ‘बी’ मा सारियो ।
यही सरुवाले कैदीहरूबीचको मनमुटाव चर्काउँदै लग्यो । असार २८ गते विवाद हिंसात्मक बन्दा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भए ।
बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा थुनामा रहेका कैदी कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको आरोप लाग्यो । ‘जेलरको मान्छे’ भएको रवाफ देखाएको भन्दै श्रेष्ठ समूह असन्तुष्ट रहेको भनाइ छ । त्यही घटनापछि कैदीहरूले सिडियो र एसपीकै अगाडि जेलर खत्रीविरुद्ध नाराबाजी गर्दै “जेलभित्र मनोमानी बन्द गर” माग गरेका थिए ।
तर, प्रशासन र प्रहरीले घटनालाई सामान्य रूपमा लिँदै ठोस कदम चालेन । तनाव मेटिनुको साटो कारागारभित्र गुटबन्दी झन् चर्कियो । बोगटी कुटिएको एक महिना नपुग्दै बिहीबार साँझ फेरि झडप भयो, जसमा पाँचजना घाइते भए । बडुवाल हत्या अभियोगमा रहेका समूहले पुनः आक्रमण गरेको आरोप लाग्यो ।
तर, त्यसको भोलिपल्ट शुक्रबार दिउँसो मिलापत्र भयो । कैदीहरुले अब झडप नगर्ने बाचा गरे । तर राति झडप अझ भयावह बन्यो । यसपटक कैदी भरत चौधरीको मृत्यु भयो र ४८जना घाइते भए ।
घाइतेहरूको उपचार अहिले सेती प्रादेशिक अस्पतालमा भइरहेको छ। गम्भीर घाइते गोदावरी नगरपालिका-२ का आयुष भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
ब्लक ‘ए’का कैदीबन्दीले ब्लक ‘बी’का कैदीबन्दीमाथि बिचको पर्खाल नै तोडेर आक्रमण गरे । आक्रमणमा रड, चक्कु, इँटा प्रयोग भएको प्रहरीले जनाएको छ ।
ब्लक ‘ए’ र ब्लक ‘बी’का कैदीबन्दीबीच कारागारको नाइके बन्ने होडबाजी चलेको थियो । सोही कारण झडप हिंसात्मकमा परिणत भएको सिडियो हमाले शनिबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
अघिल्लो शंकास्पद मृत्यु
गत असार १ गते बैंकिङ कसुर अभियोगमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश पालीको पनि कारागारमै शंकास्पद मृत्यु भएको थियो ।
असार २ गते राति कारागारको बाथरुम नजिक अचेत फेला परेका उनलाई उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको थियो। उनको कुटपिटबाट हत्या भएको आरोपमा प्रहरीकै एक कर्मचारी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।
एक महिनाभित्र बारम्बार हुने झडप, हत्या प्रयास र ज्यान जानेसम्मका घटनाले जिल्ला कारागारको सुरक्षा व्यवस्थापनमा गहिरो प्रश्नचिन्ह खडा गरेको छ । ‘सुरक्षा संवेदनशील स्थल’ मानिने कारागारमै यस्तो अवस्थाले प्रशासन र प्रहरीको असफलता स्पष्ट पारेको छ । सिडियो हमाल र एसपी राणाले जिल्लाको जिम्मेवारी सम्हाले यता कारागारमा तनाव बढ्दै गएको थियो ।
मानव अधिकार आयोगले यसअघि नै कैलाली कारागारको सुरक्षा संयन्त्र अत्यन्तै कमजोर भएको र प्रशासनको लापरबाही रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिसकेको छ ।
तर, बारम्बारको हिंसात्मक घटना रोक्न ठोस रणनीति अझै देखिएको छैन । जनस्तरबाट सिडियो हमाल र एसपी राणालाई जिम्मेवारीबाट हटाएर घटनाको गम्भीर रुपमा छानविन गर्नुपर्ने चर्को आवाज उठेको छ ।