झापा । झापाको भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा आइतबार दिउँसो लागूऔषध बरामद गर्न पुगेको प्रहरी टोलीमाथि धारिलो हतियारसहित आक्रमणको प्रयास भएको छ ।
विशेष सूचनाका आधारमा घोडामारा प्रहरी चौकीको टोली दिउँसो करिब १ बजे ३० वर्षीय सन्तोष श्रेष्ठको घरमा ब्राउनसुगर बरामद गर्न पुगेको थियो । सो क्रममा श्रेष्ठकी श्रीमती र मामा ससुराले खुकुरी निकालेर प्रहरीलाई लखेट्दै आक्रमण गर्न खोजेका हुन् ।
वडा प्रहरी कार्यालय भद्रपुरको सहयोगमा घटनास्थलमै श्रेष्ठकी श्रीमती र मामा ससुरालाई नियन्त्रणमा लिइएको छ भने कारोबारी श्रेष्ठलाई दोभान नाकामा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठको घरमा छापा मार्दा २ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । तर, प्रहरीलाई देख्नेबित्तिकै उनीहरूले लागूऔषध आँगनमा फालेर पानी खन्याई नष्ट गर्न खोजेका थिए । यस क्रममा श्रेष्ठकी श्रीमतीले उनलाई भाग्न सहयोग गर्दै प्रहरीमाथि आक्रमणसमेत गरेकी थिइन्।
घटनाअघि प्रहरीले एक जना ब्राउनसुगर सेवनकर्तालाई पक्राउ गरी सोधपुछ गर्दा उनले लागूऔषध श्रेष्ठको घरबाट खरिद गरेको बयान दिएका थिए। सोही आधारमा प्रहरीले छापा मारेको थियो।
झापा प्रहरीले घटनास्थलमा प्रहरीमाथि आक्रमणको प्रयास भएको पुष्टि गर्दै, पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।