काठमाडौं । महालक्ष्मी विकास बैंकको दार्चुला शाखाबाट करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका–७ का ३५ वर्षीय सागर शाही, नगद विभागमा कार्यरत दार्चुलाको शैल्यशिखर–९ की २९ वर्षीया निर्मला साउँद, ग्राहक सहायता कक्षमा कार्यरत बैतडी पुर्चौडी नगरपालिका–३ का २८ वर्षीय अम्बादत्त पन्त र कर्जा विभागमा कार्यरत दार्चुला लेकम गाउँपालिका–१ का ३१ वर्षीय धनन्जय पन्त छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, उनीहरूले गोकुलेश्वरस्थित शाखा कार्यालयको भल्टमा रहेको नगद गैरकानुनी रूपमा भुक्तानी लिएर २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा बैंकलाई नोक्सानी पु¥याएका छन् ।
चारै जना मिलेमतोमा रकम हिनामिना भएको भनी बैंकले जाहेरी दिएपछि पक्राउ गरिएको हो । जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी बैंकिङ कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।