Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रविलाई राखिएको कारागारमा सरकारबाट कमजोरी भएकै छ : मानव अधिकार आयोग

रविलाई राखिएको कारागारमा सरकारबाट कमजोरी भएकै छ : मानव अधिकार आयोग

सोमवार , श्रावण २६, २०८२

रूपन्देही । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार रूपन्देही कारागारको अनुगमन गरेको छ। पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको बसाइको अवस्थाबारे बुझ्न आयोगको टोली कारागार पुगेको थियो ।

आयोगकी आयुक्त लिली थापासहितको टोलीले रूपन्देही कारागारको अवस्थाबारे अनुगमन गरेको हो। कारागार अनुगमन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै आयुक्त थापाले क्षमताभन्दा बढी कैदी राखेको पाइएको बताइन्।

उनले भनिन्–‘२५० जना कैदी राख्ने क्षमता भएको यस कारागारमा ७०० कैदी राखिएको छ, यो न्यूनतम मानव अधिकारको हनन् भएको विषय हो, हामीले त्यो पायौं । ७०० जना कैदीलाई व्यवस्थापन गर्ने कारागार प्रमुखलाई म धन्यवाद दिन्छु। तर, क्षमताभन्दा बढी कैदी राख्नु र कैदी व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी हो।’

सबै कैदीबन्दीका अवस्थाबारे बुझेको आयोगको टोलीले लामिछानेसँग पनि कुराकानी गरिएको आयुक्त थापाले बताइन् ।

रविले गरेको गुनासो सुनाउँदै उनले भनिन्–‘उहाँले अहिलेसम्म बाहिर हिँडडुल गर्न पाउनु भएको रहेनछ । बाहिर गएर स्वच्छ हावा लिन पाउनुपर्‍यो, पत्रपत्रिका पढ्न पाउनुपर्‍यो, न्युज सुन्न पाउनुपर्‍यो भन्ने कुरा गर्नुभयो । उहाँले कानूनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानून व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो।’

झ्यालमा प्लाइउड राखिएको देखेपछि आफूहरुले त्यसलाई झिक्न भनेका र कारागार प्रशासनले पनि हुन्छ भनेको उनले सुनाइन् । रूपन्देही कारागारको अवस्थाबारे आयोगले छिट्टै धारणा सार्वजनिक गर्ने उनले बताइन्।

कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापन कमजोर भएको भन्दै केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।

टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको छ । यसअघि रविलाई भेट्न पुगेका डा। बाबुराम भट्टराई, डा। सिके राउत, हृदयेश त्रिपाठी, माधव सापकोटा तथा बासुदेव घिमिरेले रविलाई कष्ट दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077