काठमाडौं । अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनले प्रहरीसमक्ष जन्मदिन पनि मनाउन नपाएको भन्दै गुनासो गरेका छन् ।
साउन १५ गते राति काठमाडौंको महाराजगन्जस्थित होटल साम्बालामा ठूलो समूह भेला भई होहल्ला गरेको आरोपमा पक्राउ परेका उनले प्रहरीसँगको बयानमा जन्मदिनको अवसरमा केक काटेपनि खान नदिएको भन्दै गुनासो गरेको प्रहरी स्रोतले बतायो ।
धेरै होहल्लाखल्ला नगरेको तर अलिकति ढिलो भएको स्वीकार्दै प्रहरीसँगको बयानमा चक्रेले राम्रोसित केक पनि खान नपाएको बताएका छन् ।
सार्वजनिक हितविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा गुण्डा नाइके चक्रे मिलनसँगै पक्राउ परेका ४७ जनामध्ये २८ जना रिहा भइसकेका छन् भने बाँकी १९ जनामाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार उनीहरू महाराजगन्ज क्षेत्रमा ठूलो आवाजमा होहल्ला गर्ने र शान्ति सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न थिए ।
पहिलोपटक जिल्ला प्रशासन कार्यालयबाट सात दिनको अनुमति लिएको प्रहरीले शुक्रबार दोस्रोपटक तीन दिनको अनुमति पाएको थियो ।
उक्त म्याद आज सकिएकाले प्रहरीले भोली फेरि म्याद थपका लागि चक्रेसहित १९ जनालाई अदालत उपस्थित गराउने प्रहरीले जनाएको छ ।