एजेन्सी । युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी अलास्का भेटवार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको सहभागिताबिनाको एकतर्फी शान्ति सम्झौता नगर्न स्पष्ट आग्रह गरेका छन् ।
जर्मन चान्सलर फ्रेडरिक मर्जको पहलमा ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा प्रमुख युरोपेली नेताहरूबीच बुधबार भर्चुअल शिखर सम्मेलन सम्पन्न भयो । पुटिनले ट्रम्पलाई युद्धलाई आफ्नो दृष्टिकोणबाट हेर्न मनाउने प्रयास गर्ने सम्भावना बढेका बेला बैठक बसेको हो ।
बैठकपछि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले वाशिङ्टनको चाहना युद्धविराम भए पनि युक्रेनको सहभागिताबिनाका क्षेत्रीय वार्ता स्वीकार्य नहुने बताए । ट्रम्पले पनि पुटिनसँगको पहिलो बैठक सफल भए तुरुन्तै पुटिन–जेलेन्स्की वार्ता हुने संकेत दिए ।
सीएनएनलाई जानकारी दिएका दुई युरोपेली कुटनीतिज्ञका अनुसार ट्रम्पले पुटिनसँगको भेटमा बिनासर्त युद्धविरामको लागि जोड दिने योजना राखेका छन् र यसलाई रूसको ‘सद्भावको संकेत’का रूपमा लिने धारणा व्यक्त गरेका छन् । तर उनले युक्रेनी भूभागको विषयमा वार्ता नहुने बताए ।
बैठकमा युक्रेन, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, फिनल्यान्ड, नेटो र युरोपेली संघका शीर्ष नेताहरू सहभागी थिए ।