काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा भगवान गौतम बुद्धको विशाल प्रतिमा निर्माण भइरहेको छ । थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्र गतिमा निर्माण भइरहेको छ ।
गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि सुरु गरिएको जानकारी दिए । धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको बुद्धको प्रतिमालाई एउटै ठूला ढुंगामा बनाइएको उनले बताए ।
८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको र अन्य भागहरूको निर्माण तीव्र रूपमा भइरहेको जानकारी अध्यक्ष लामाले दिए । अध्यक्ष लामाका अनुसार उक्त बुद्धको प्रतिमा एउटै शिलामा एशियाकै अग्लो ढुंगामा कुँदिएको छ ।
परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको र आगामी वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ । पाँचपोखरी गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा बनाउने काम भइरहेको अध्यक्ष लामाले बताए ।
अध्यक्ष लामाले भने–‘विश्वका धेरै ठूला बुद्धका प्रतिमा टुक्रा–टुक्रा ढुंगा जोडेर बनाइएका छन् । हामी भने एउटै ढुंगा प्रयोग गरेर इतिहासमै पहिलो पटक यस्तो काम गर्दैछौं ।’
उनले धार्मिक पर्यटन प्रवर्द्धन गर्न, स्थानीयको आर्थिक समृद्धिमा टेवा पुर्याउन, पाँचपोखरी थाङ्पाललाई अध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजना अघि सारेको बताए ।
अध्यक्ष लामाले भने–‘बुद्ध जन्मेको देशमा, बुद्धकै सन्देश फैलाउने हाम्रो अभियान हो । यो काम युगौ युगसम्म इतिहासमा कायम रहने छ।’ अध्यक्ष लामाले देश तथा विदेशमा रहेका नेपाली तथा श्रद्धालुहरूलाई आर्थिक सहयोगको लागि आग्रह समेत गरेका छन् । उनले सहयोगीहरूको नाम शिलालेखमा राखिने पनि बताए।
विश्वभरका बौद्ध अनुयायीहरूलाई यस प्रतिमाले आकर्षण गर्ने उनले विश्वास व्यक्त गरे । गाउँपालिकाले प्रतिमा निर्माणपछि यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष लामाको भनाई छ ।