काठमाडौं । भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर भएका बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले आठ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना तोकेको छ ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको बिहीबारको इजलासले मेयर थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई जनही आठ वर्ष कैद र १० करोड नौ लाख ७८ हजार २९९ रुपैयाँ जरिवाना तोकेको हो ।
पोखरेल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुन् भने पौडेल नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर हुन्।
थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी २७ चैत ०८० मा र हानि–नोक्सानी गरेको अभियोगमा २९ जेठ ०८१ मा दुई मुद्दा दायर भएका थिए।