वीरगन्ज । वीरगन्ज महानगरपालिका–६ माईस्थानस्थित गहवामाई मन्दिर नजिकको दीपसन एण्ड सानवी ज्वेलर्समा बिहीबार प्रहरीले छापा मारेको छ।
बिलबिजक बिना सुनचाँदी कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट डीएसपी किशोर लम्सालको नेतृत्वमा टोलीले दिउँसो करिब साढे २ बजे पसलमा छापा मारेको हो ।
करिब तीन घण्टा चलेको अनुसन्धानका क्रममा प्रहरीले सञ्चालक दीपक सर्राफसँग खरिद–बिक्रीका बिलबिजक मागेको थियो ।
डीएसपी लम्सालका अनुसार, बिलभौचरको परीक्षण गर्दा खरिद गरिएको सुनको परिमाण बिक्रीभन्दा बढी देखिए पनि मौज्दातमा त्यो परिमाणको सुन नभेटिएको पाइएको छ।
त्यसपछि आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई बोलाएर थप अनुसन्धानको जिम्मा दिइएको उनले बताए । घटनापछि वीरगन्जका सुनचाँदी व्यवसायी र कालीगढहरूले घटनास्थलमा पुगेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।