धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय सुखडका इञ्चार्ज तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश अवस्थीमाथि कार्यालय सञ्चालनमा ‘एकलौटी’ गरेको आरोप लागेको छ ।
गत वैशाखमा इञ्चार्जका रूपमा जिम्मेवारी सम्हालेका अवस्थीले कार्यालयका विभिन्न शाखाहरूको जिम्मेवारी अन्य अधिकृतलाई नदिई आफैं सम्हाल्दै आएको आरोप लागेको हो ।
विशेषगरी सबैभन्दा महत्वपूर्ण मानिने मुद्दा शाखाको नेतृत्व समेत अवस्थीले आफैंले सम्हालेका छन् । अन्य अधिकृतहरू उपस्थित हुँदाहुँदै पनि मुद्दा शाखाको जिम्मेवारी आफूमा राखेपछि अवस्थी आन्तरिक विवादमा तानिएका हुन् ।
स्रोतका अनुसार अन्य त्यहाँ कार्यरत प्रहरी अधिकृत जिम्मेवारी नदिँदा कामविहीन जस्तै छन् । विशेषगरी संवेदनशील मानिने मुद्दा शाखाको नेतृत्व समेत उनले आफैंमा राखेपछि सहकर्मी अधिकृतहरूबीच असन्तुष्टि बढेको स्रोतले बतायो ।
इञ्चार्ज अवस्थीको एकलौटी नेतृत्व शैलीले कार्यालयभित्र जिम्मेवारी बाँडफाँट र पारदर्शितामाथि प्रश्न उठाएको छ । यता डीएसपी अवस्थीले पनि कार्यालयको इञ्चार्ज आफू भएका कारणले सबै जिम्मेवारी आफ्नो रहेको बताए । आफूले नै कार्यालयको सम्पूर्ण जानकारी प्रहरी हेडक्वाटर, पत्रकार र अन्य ठाउँ दिनुपर्ने बताए ।
उनले भने, ''कार्यालयको इञ्जार्ज हुँ । सबै ठाउँ मैले नै जवाफ दिनुपर्छ । मैले आफ्नो काम सबै आफैँ गर्छु । खाना पकाउनेदेखि जुत्ता पालिस म आफैँ लगाउछु । कुनै ठाउँ घटना हुँदा पनि म आफैँ खटिन्छु ।''
साथै उनले सूचना अधिकारी पनि नतोकेको आरोप छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रवक्ता तोक्ने गरिन्छ ।
उसो त इप्रका सुखडमा डीएसपीहरू जान नमान्ने परम्परा रहेको पनि प्रहरी स्रोतको दाबी छ । आर्थिक लाभ कम हुने भएकाले यस कार्यालयमा अधिकृतहरूको रुचि कम देखिन्छ ।
पछिल्लो सरुवामा पनि कोही डीएसपी यसै कार्यालयमा आउन इच्छुक नभएपछि, प्रमुखविहीन बनेको डेढ महिनापछि अवस्थीलाई यहाँ खटाइएको हो ।
उनले गत वैशाखमा जिम्मेवारी सम्हालेका थिए । यस कार्यालयमा डीएसपीको दरबन्दी नरहेपनि प्रहरी प्रधान कार्यालयले काजमा डीएसपीलाई इञ्चार्जको रुपमा खटाउँदै आएको छ ।