काठमाडौं । उपत्यकाका वृत्तहरू डीएसपीका लागि आकर्षक पोष्टिङ मानिन्छ । राजधानीको पनि केन्द्रमा रहेको सिंहदरबार वृत्त भने डीएसपीहरुको रोजाईमा पर्न छाडेको छ ।
सो वृत्तको सरुवा पछिल्लो समय अस्वीकार गर्ने प्रवृत्ति बढीरहेको छ । आठ महिनाअघि प्रहरी प्रधान कार्यालयले डीएसपी बेद पौडेललाई सिंहदरबार वृत्तमा सरुवा गरेको थियो । पौडेल त्यहाँ जान मानेनन् । उनले नमानेपछि अर्का डीएसपी गंगा पौडेललाई त्यहाँ सरुवा गरियो ।
पौडेल पनि ६ महिनामै त्यहाँबाट सरुवा मागेर हिडें । एसपी बढुवामा छुटेका डीएसपी वीरेन्द्र थापालाई त्यहाँ खटाइयो । खटाइएको दुई सातामै उनको एसपीमा बढुवा भएपछि प्रहरी प्रधान कार्यालयले डिएसपी प्रल्हाद कार्कीलाई त्यहाँ सरुवा ग¥यो ।
तर, डीएसपी कार्की पनि सिंहदरबार वृत्त जान मानेनन् । उनले नमानेपछि अर्का डीएसपी जर्नादन घिमिरेको वृत्तमा काज भएको छ । यसरी पछिल्लो एक वर्षमा सिंहदरबार वृत्तमा पाँच डीएसपी फेरिएका छन् ।
देशको प्रशासनिक केन्द्र सिंहदरबारको समेत सुरक्षा हेर्ने यो वृत्त सबैभन्दा संवेदनशील मानिन्छ । तर, यहाँ कोही पनि जान नचाहने अवस्था बनेको छ ।
पहिला सो वृत्तमा बसेका एक डीएसपीका अनुसार सिंहदरबार वृत्तमा तनाव धेरै तर आकर्षण केही छैन । ‘हिउँद महिनाभरी आन्दोलन हुन्छ, माइतीघरमै बास हुन्छ, कतिबेला ढुंगा खाने हो थाहा हुन्न,’ ती डीएसपी भन्छन्, ‘बिहानदेखि बेलुकासम्म वृत्तको जागिर तनावपूर्ण छ, आकर्षण केही छैन ।’
उपत्यकाका वृत्तहरुको अतिरिक्त आम्दानी रात्रीकालिन व्यवसाय हो । सो वृत्त मातहत त्यस्ता व्यवसाय पनि कम रहेकाले सिंहदरबार वृत्तमा डीएसपीको आकर्षण घटेको हो ।