दैलेख । जिल्लामा बढ्दै गएका यौनजन्य घटना र महिलामाथि हुने हिंसा रोकथाम गर्न जिल्ला प्रहरी कार्यालय दैलेखले भदौ महिनाभर ‘लैंगिक हिंसा रोकथाम अभियान’ सञ्चालन गर्ने भएको छ ।
दैलेखका प्रहरी प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार ग्रामीण बस्तीस्तरसम्म सचेतना कार्यक्रम आवश्यक भएकाले अभियान अघि बढाइन लागिएको हो ।
सोमबार दैलेख सदरमुकाममा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले नागरिक समाज संस्था र ११ वटै स्थानीय तहका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाप्रमुखहरूसँग अभियानको योजना प्रस्तुत गरेका थिए।
उनका अनुसार बलात्कार, यौन दुर्व्यवहार, बालविवाह, छाउपडी प्रथा विरुद्ध समुदायमै पुगेर सचेतना फैलाइनेछ । साथै स्थानीय तहका कार्यक्रम र गैरसरकारी संस्थाको सहकार्यमा लैंगिक हिंसा रोकथामलाई प्रभावकारी बनाउन अभियान चलाउन आवश्यक रहेको डीएसपी बरालले बताए ।
यस्तै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले सचेतना अभियानलाई सफल बनाउन नागरिक समाजको थप सहयोग आवश्यक रहेको बताए । गैसस महासंघका कोषाध्यक्ष भरतराज अधिकारीले सिजनल रोजगारीको कारण पनि अपराध संख्या बढ्ने गरेको टिप्पणी गरे।
स्थानीय तहका प्रतिनिधिहरूले पनि जिल्लामा अझै कायम रहेका समस्याहरू औंल्याए । आठबीस नगरपालिकाकी शाखा प्रमुख बन्दना लम्सालले छिमेकी अछामको प्रभावले छाउपडी प्रथा हटाउन कठिनाइ रहेको बताइन् ।
ठाँटीकाँध गाउँपालिकाकी शाखा प्रमुख गीता बिकले विकट क्षेत्रमा बालविवाह रोकथाम चुनौतीपूर्ण रहेको स्वीकार गरिन् । उत्कृष्ट हेडलाइनहरु बनाउनुहोस््