काठमाडौँ । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ (चक्रे मिलन) प्रहरी हिरासतबाट छुटेपछि फेरि सामाजिक सञ्जालमा सक्रिय भएका छन् ।
सामाजिक सञ्जाल र सडकमा आतंक मच्चाएको आरोपमा उनलाई साउन १५ गते काठमाडौंको महाराजगञ्जस्थित साम्बाला होटलमा जन्मदिन मनाइरहेको अवस्थामा ४७ जनासहित प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा अदालतमा पेश गर्दा काठमाडौं जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसलगत्तै भक्तपुर जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको मुद्दामा पनि उनलाई १ लाख १० हजार धरौटीमा छुटाइएको थियो ।
तर हिरासतबाट मुक्त भएपछि चक्रे मिलन फेरि पुरानै शैलीमा फर्किएका देखिन्छन् । उनले दुई दिनअघि मात्र भिड जम्मा गरेर ‘पुष्पा पुष्पा’ गीतमा टिकटक भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत प्रहरीलाई प्रत्यक्ष चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमा उनको यस्तो गतिविधिलाई कतिपयले “अझै नसुध्रिएको प्रमाण” भन्दै आलोचना गरेका छन् । यसअघि पनि उनी सामाजिक सञ्जालमा गाडीको लावालस्करसहित बाटो अवरुद्ध गरेर स्कर्टिङ गरेको भिडिओ भाइरल भएपछि प्रहरीको फन्दामा परेका थिए।
https://www.tiktok.com/@official.milanchakre/video/7539440127265869074?is_from_webapp=1&sender_device=pc