काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा अबको तीन हप्तापछि प्रमुख फेरिँदै छन् । हुतराज थापा तीन वर्षे पदावधि पुरा गरी २७ भदौमा अवकाशमा जाँदैछन् ।
उनको अवकाशपछि एआईजीद्वय ओम जोशी र टेकेन्द्र कार्की नयाँ प्रमुखका लागि प्रतिस्पर्धामा छन् । जोशी शेरबहादुर देउवा निकट हुन् भने कार्कीले पछिल्लो समय एमालेसँग निकटता बढाएका छन् । जसकारणले कसले नियुक्ति पाउँछ भन्न नसकिने अवस्था छ ।
प्रमुखको नियुक्तिसँगै रिक्त हुने अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) पदका लागि पनि तिव्र प्रतिस्पर्धा छ । एक पदका लागि नौ जना डीआईजीबीच प्रतिस्पर्धा छन् । जसमध्ये १ नम्बरमा ओम खड्का छन् ।
उनी २१ भदौ २०७९ मा पहिलो नम्बरमा बढुवा भएका थिए । उनीसँगै बढुवा भएका कृष्ण खनाल, राम दास, ब्रजेश खनाल र भिम बुढाथोकी पनि बढुवाका दाबेदार छन् ।
त्यस्तै, ५ बैशाख २०८० मा डीआईजी भएका किशोर श्रेष्ठ र संजय यादब पनि अहिले नै एआईजी बढुवाको दाउमा छन् । तेस्रो लटमा ११ असार २०८० मा बढुवा भएका इन्द्र लामा र माधव तिमिल्सिना समेत एआईजी बढुवाको प्रतिस्पर्धामा लागेका छन् ।
अहिले जो एआईजी हुन्छ, तीन वर्षपछि उनी प्रमुख हुने सम्भावना भएकाले पनि एआइजी बढुवा समेत तिव्र चलखेल देखिएको छ । प्रमुख र एआईजी बढुवामा सत्तारुढ दुई दल कांग्रेस र एमालेबीच भागबन्डा हुने सम्भावना समेत देखिएको छ ।