काठमाडौं । अध्यागमन विभागले भिसाको उद्देश्य विपरित नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न तीन जना इन्डोनेशियाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
अध्ययन भिसामा नेपाल बसेर होस्टेल सञ्चालन गर्दै मुस्लिम धर्मको प्रचार प्रसारमा संलग्न तीन जना इन्डोनेसियाली महिलाहरु पक्राउ परेका हुन् ।
सन् २०२४ मा नेपाल प्रवेश गरेकी इन्डोनेसियाकी एक महिलाले अध्ययन भिसा लिई नेपालमा भिसाको उद्देश्य विपरित ललितपुरको धोबिघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेशी समाजमा गर्ल्स होस्टेल राखी तीन जना इन्डोनेसियाका महिलाहरुलाई शिक्षकको रुपमा राखेर टर्कीस र कुरान भाषा सिकाउने तथा मुस्लिम धर्मको प्रचारप्रसार गर्ने गरेको खुलेको विभागले जनाएको छ ।
टर्कीमा अवस्थित SAHA EGITM KULTUR VE DUSTULUK DERNEGI, SAHA INTERNATIONAL र UK को एक धर्मप्रचारक संस्थामार्फत् प्रत्येक वर्ष २ करोड ५० लाख रुपैयाँ प्राप्त हुने गरेको जानकारीमा आएको समेत विभागले जनाएको छ ।
इण्डोनेशियाका ती महिलामध्ये एकले पर्यटक भिसा र अन्य दुइले अध्ययन भिसा लिएका छन् । उक्त होस्टेलमा करिब ५० जना छात्राहरुलाइ कुरान पढाइराखेका बखत अध्यागमन विभागका निर्देशकसमेतको टोलीले नियन्त्रणमा लिएको हो ।
त्यहाँ रहेका छात्राहरु अन्य शैक्षिक संस्थामा अध्ययन गरेको समेत नखुलेको विभागले जनाएको छ । उनीहरुले ललितपुरकै ज्वागलमा समेत ब्वाइज होस्टेलसमेत राखी विभिन्न जिल्लाका व्यक्तिहरुलाइ कुरान पढाउने एवम् धर्मको प्रचारप्रसार गरेको भन्ने सूचना प्राप्त भएको बताउँदै विभागले अनुसन्धान अगाडि बढाएको जनाएकोक छ । नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्ने भए वर्किङ भिसा लिएको हुनुपर्छ ।
अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिन सक्ने व्यवस्था छ ।
अध्यागमन नियमावली, २०५१ मा पर्यटक भिसामा बसेको विदेशी नागरिक र परिवारको सदस्यले कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था छ ।
यसरी गैरकानूनी रुपले बसेका विदेशीलाई अनुसन्धानपश्चात् महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधी तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानूनी व्यवस्था छ ।