विराटनगर । मोरङस्थित उमागौरी सहकारी संस्थामा भएको २२ करोड रुपैयाँभन्दा बढीको ठगी प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित चार जनालाई जनही १/१ करोड रुपैयाँ धरौटी तोकेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार सार्वजनिक लेखा समिति सभापति समेत रहेकी सांसद पोखरेलकी पत्नी कोइरालासँगै रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बाँस्कोटालाई जनही १/१ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । उच्च अदालत विराटनगरका अनुसार यसअघिको जिल्ला अदालतको आदेशलाई उल्ट्याएर उच्च धरौटी माग गरिएको हो ।
यसअघि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २४ गते कोइरालालाई १० लाख, बाँस्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्दै प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो।
जिल्ला अदालतले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र पूर्व वडाध्यक्ष राजवंशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। उच्च अदालतले अध्यक्ष रौनियारको हकमा जिल्ला अदालतको आदेशलाई सदर गरे पनि राजवंशीलाई भने १ करोड धरौटी तोकेको छ।
उमागौरी सहकारीमा २२ करोड रुपैयाँभन्दा बढीको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये केही अझै पुर्पक्षका लागि थुनामा छन् भने केही धरौटीमा रिहा हुने अवस्था सिर्जना भएको छ।