धनगढी । सामाजिक सञ्जालमा तथ्यहीन आरोप लगाएर चरित्रहत्या गरेको भन्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले प्रहरीमा उजुरी दिएका छन् ।
मन्त्री पालका छोरा मुकेश पालले दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका हुन् । कैलाली प्रहरीका अनुसार उजुरी आवश्यक कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको छ ।
सुनारले बिहीबार फेसबुकमा स्टाटस लेख्दै बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण काजी कोलीलाई मन्त्री पालले गाडीले किचेर हत्या गरेको गम्भीर आरोप सार्वजनिक गरेका थिए ।
तर प्रहरी अनुसन्धानअनुसार गत साउन १७ गते बालुवा संकलन गर्ने क्रममा स्थानीय डिन्नीगाडमा विद्युतको पोल छुँदा करेन्ट लागेर किशोरको मृत्यु भएको बताइएको छ ।
मृतक परिवारले भोलिपल्टै शव बुझिसकेको प्रहरीले जनाएको छ । तर, सामाजिक सञ्जालमार्फत असत्य आरोप लगाइएको भन्दै मन्त्रीको सचिवालयले विज्ञप्ति जारी गरी यो कार्य “कपोकल्पित र बदनाम गर्ने उद्देश्यपूर्ण गतिविधि” भएको प्रतिक्रिया दिएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पनि विज्ञप्ति जारी गर्दै “तथ्यहीन आरोप लगाएर मन्त्रीको बदनाम गर्ने कार्य अस्वीकार्य” भन्दै सुनारलाई कारबाही गर्न माग गरेको छ । एमाले संसदीय दलले पनि सामाजिक सञ्जालमा जथाभावी प्रचार–प्रसार गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन जोड दिएका छन् । यता सुनार निरन्तर सामाजिक सञ्जालमा मन्त्री पालकाविरुद्ध स्टाटस लेखिरहेका छन् ।