काठमाडौं । 'साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका' भन्ने मूल नाराका साथ सञ्चालित दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” समापन भएको छ ।
गृहसचिव गोकर्णमणि दुवाडीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार उक्त सम्मेलन विशेष समारोहबीच समापन भएको हो ।
समारोहमा गृहसचिव दुवाडीले विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारीहरू, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउनु हुने महानुभाव तथा विभिन्न संघसंस्थाहरूलाई कदरपत्र, पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरे । समारोहलाई सम्बोधन गर्दै गृहसचिव दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तिकरणको यात्रामा नयाँ अध्यायको सुरूवात गरेको चर्चा गरे ।
नेपाल प्रहरीमा पहिलो पटक देश भरका महिला प्रहरी कर्मचारीहरू, अवकाश प्राप्त महिला प्रहरी अधिकृतहरू, महिला सशक्तिकरण र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने समाजका महानुभावहरूलाई एकै मञ्चमा ल्याएर छलफल, अनुभव आदान प्रदान र भविष्यको अवसर तथा नेतृत्वको विषयबारे विचार गर्न यो सम्मेलनले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको उनले विश्वास व्यक्त गरे ।
गृहसचिव दुवाडीले सम्मेलनबाट जारी भएको घोषणापत्र तथा प्रतिवेदन अत्यन्तै गहन एवम् महत्वपूर्ण रहेको र यसको कार्यान्वयनको लागि विशेष आग्रह गर्नुका साथै सम्मेलनबाट प्राप्त विचार तथा निष्कर्षहरू आगामी दिनमा नीति निर्माण र संस्थागत सुधारका लागि मार्गदर्शक सिद्धान्तको रूपमा अबलम्वन गर्न आवश्यक रहेको बताए ।
सम्मेलनबाट प्राप्त ज्ञान र अनुभवले महिला प्रहरी कर्मचारीहरूको सशक्तिकरणमा मात्रै नभई नागरिक सेवा प्रवाहमा क्षमता अभिवृद्धि, समुदायमा विश्वास, संस्थागत सबलीकरण र सुदृढिकरणका साथै प्रहरी संगठनलाई थप न्यायिक, उत्तरदायी एवम् समाजमैत्री बनाउन समेत उल्लेखनीय योगदान पुर्याउने उनको विश्वास छ ।
नेपाल प्रहरी संगठन सहित महिला प्रहरी कर्मचारीहरूको क्षमता विकास तथा दक्षता अभिवृद्धि, सक्रिय सहभागीता, प्रभावकारी नेतृत्व तथा समग्र वृत्तिविकासमा गृहमन्त्रालयले निरन्तर अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै सम्मेलनमा व्यक्त भएका विचारहरू, विभिन्न विषयमा विज्ञहरूको विश्लेषण, अनुसन्धान प्रतिवेदनका प्रस्तुतीहरू, सहभागीहरूको अनुभवको आदान प्रदान र अन्तर्क्रिया मार्फत नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण तथा सुझावहरू प्राप्त भएको बताउँदै सम्मेलनबाट प्राप्त भएका सुझाव एवम निष्कर्षहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।