काठमाडौं । पश्चिम तराइका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । यो उनीहरुको महत्त्वपूर्ण पर्व हो ।
अस्ति शुक्रवार राति दर खाएर हिजो दिनभरि व्रत बस्ने र बेलुका रोटी पकाएर देवतालाई चढाइसकेपछि खाने तथा आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन थारु समुदायमा छ ।
दाङको घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन छ । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ ।
यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ ।
पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । अट्वारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ ।