एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले स्वतन्त्रता र न्यायपूर्ण शान्तिका लागि लडाइँ जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।
स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले “हामीलाई शान्ति चाहिन्छ, तर हाम्रो आह्वान सुनेन भने लडाइँ रोकिँदैन,” भन्ने चेतावनी दिए ।
जेलेन्स्कीले युक्रेनले अहिलेसम्म निर्णायक विजय हासिल नगरे पनि कुनै हालतमा हार नस्वीकारेको स्पष्ट पारे। उनको सम्बोधन युक्रेनले पश्चिमी कुर्स्कस्थित आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण गरेको रुसको आरोपको पृष्ठभूमिमा आएको हो । रुसी अधिकारीहरूका अनुसार ड्रोन खसेर ट्रान्सफर्मरमा क्षति पुगे पनि विकिरण स्तर सामान्य रह्यो र कुनै जनहानि भएन ।
युद्धको क्रममा आणविक प्रतिष्ठानहरू जोखिममा पर्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले युक्रेन र रुस दुवै पक्षलाई अधिकतम संयम अपनाउन बारम्बार आह्वान गर्दै आएको छ।
जेलेन्स्कीले युक्रेनी जनतालाई दृढता र धैर्य कायम गर्न आग्रह गर्दै “स्वतन्त्रताको बाटो चुनौतीपूर्ण भए पनि हामी निश्चित रूपमा विजयतर्फ अघि बढिरहेका छौँ” भने।