काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।
सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडि निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका रामहरि खतिवडाले राजीनामा दिएका थिए । निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार राजनीतिक दलसँग छलफल गरेका थिए ।
दुई महिनादेखि राज्य व्यवस्था समितिको बैठक बस्न नसक्दा समितिमा रहेका नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक गरी चार विधेयक अड्किएका छन् ।